तपाईँ सुन्दै हुनुहुन्छः

अफ सिजन’मा पर्यटक प्रवेश शुल्कबाट ३२ लाख राजस्व सङ्कलन

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ ।

‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरूबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । 

असारमा ८ सय ५७ विदेशी र १८ नेपाली, साउनमा ३ सय २३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ ।

‘अफ सिजन’ मा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूमा भारत, युके, स्पेन, चीन लगायतका बढी छन् । निकुञ्जले सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार पाँच सय रुपियाँ, अन्य मुलुककालाई तीन हजार रुपियाँ र नेपालीलाई एक सय रुपियाँ शुल्क लिने गरेको छ ।

यसअघि मनसुनको सिजनमा पर्यटक आवागमन ठप्प नै हुने गरेको यस क्षेत्रमा यस वर्ष भने ‘अफ सिजन’मा १५ देखि २० जनासम्म पर्यटक दैनिक प्रवेश गर्ने गरेको सूचना अधिकारी रोकायले बताउनुभयो । जसका कारण निकुञ्जका कर्मचारीहरूमा व्यस्तता बढेको छ भने खुम्बुका होटल, पसल तथा पर्यटन व्यवसायहरू समेत चलायमान बन्दै गएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

लामो समय कोरोनाका कारण घर तथा कोठाभित्रै सीमित बन्नु परेकाले पछिल्लो समय भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको अनुमान गरिएको छ । 

सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत्र अन्तिमबाट जेठसम्म र असोजदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button