सरकारी अस्पतालमा उपचार गराउन मन्त्री खापुङको आग्रह
काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभएको छ ।
उहाँले जिल्ला समन्वय समिति काभ्रेपलान्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा नीजि अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गर्नुभएको हो ।
“घातक रोग लागेका बिरामी नीजि अस्पतालमा जाने, पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नुस्”, मन्त्री खापुङले भन्नुभयो । उहाँले आफूले नीजि अस्पताललाई दूरुत्साउन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै नीजि अस्पतालतिर उपचार गर्न जानसक्ने बताउनुभयो ।
मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिइरहेको स्मरण गराउनुभयो ।
मन्त्री खापुङले फरक प्रसङ्गमा सङ्घीयताको अभ्यास भइरहँदा केन्द्रको अधिकार गाउँमा लैजाने क्रममा जिल्लास्थित अस्पतालका चिकित्सक तथा कृषि वैज्ञानिक समेतलाई स्थानीय स्तरमा लैजाने भन्ने जनाइए पनि सबै क्षेत्रमा त्यस्तो नभएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका गतिविधिको अनुगमन स्थानीय जनप्रतिनिधिले नै गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको बजेट स्थानीय तहमा नै पठाउने प्रणालीका लागि छलफल भइरहेको बताउनुभयो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकाजूले एक चिकित्सकले ४० हजार नागरिकलाई हेर्नुपर्ने अवस्थाबाट १० हजारसम्ममा ल्याइनु स्वास्थ्य क्षेत्रमा प्रगति भएको मान्नुपर्ने बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्