लालपूर्जा प्राप्तिका लागि सुर्खेतका साढे ५४ हजार नागरिकले दिए निवेदन

सुर्खेत । सुर्खेतका साढे ५४ हजार नागरिकले राष्ट्रिय भूमि आयोगमा जग्गाको लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन् ।
जग्गा र जग्गाको लालपूर्जा माग गर्दै कुल ५४ हजार ५ सय ९७ जना नागरिकले निवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले जनाएको छ ।
ती मध्ये ४८ हजार ७ सय २ जना अव्यवस्थित बसोबासी, ५ हजार ८ सय ९५ जना भूमिहीन, दलित र सुकुम्बासी रहेका छन् ।
निवेदन दिनेहरूमा वीरेन्द्रनगर नगरपालिकाका सबैभन्दा धेरै र चिङ्गाड गाउँपालिकाका सबैभन्दा थोरै नागरिक छन् ।

वीरेन्द्रनगरबाट १३ हजार ८ सय ८० जना र चिङ्गाडबाट ८ सय १५ जनाले निवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिनुभयो ।
उहाँले चौकुने गाउँपालिकाबाट ४ हजार ४ सय ८१ जना, पञ्चपुरी नगरपालिकाबाट ७ हजार ३ सय जना र वराहताल गाउँपालिकाबाट ४ हजार ६ सय ६३ जनाले जग्गा माग गर्दै आयोगमा निवेदन दिएको बताउनुभयो ।
जिल्लाकै सिम्ता गाउँपालिकाबाट ३ हजार २ सय ७२ जना, गुर्भाकोट नगरपालिकाबाट ६ हजार ४ सय ७० जना, भेरीगंगा नगरपालिकाबाट ८ हजार ९ सय ५७ जना र लेकवेसी नगरपालिकाबाट ४ हजार ७ सय ५७ जनाले निवेदन दिएको उहाँको भनाइ छ ।
छुटेकालाई थप ३५ दिने म्याद
राष्ट्रिय भूमि आयोगले जग्गा तथा लालपूर्जा प्राप्तिका लागि निवेदन दिन छुटेकालाई पुनः ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
लगत सङ्कलन गर्न छुटेका दूरदराजका नागरिकलाई अबको ३५ दिनभित्र निवेदन दिन पुनः सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ ।
सुर्खेतमा करिब ६० हजार जग्गा अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र सुकुम्वासीहरू रहेको अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्