उद्योग वाणिज्य संघ डडेल्धुराको मतदान २५ गते हुँदै
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घको निर्वाचन यही भाद्र २५ गते हुने भएको छ । २० पदका लागि हुने निर्वाचनमा २६ जनाको उम्मेदवारी मनोनयन परेपछि मतदान हुने भएको हो ।
निर्वाचन समितिका संयोजक युवराज जोशीले दिएको जानकारी अनुसार अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । संघका पूर्व प्रथम उपाध्यक्ष भोजराज भट्ट र वर्तमान प्रथम उपाध्यक्ष द्विजराज भट्टका बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसैगरी अन्य पदहरूमा पनि दुई जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दीपक महता र लालमणि पन्त, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी र महादेव भट्ट, महासचिवमा विष्णुराज जोशी र दिनेशप्रसाद पनेरु, सचिव (महिला)मा मिना फुलारा र लक्ष्मी ऐरको उम्मेदवारी परेको संयोजक जोशीले जनाएका छन् ।
उद्योग उपाध्यक्षमा वासुदेव जोशी, वाणिज्य सचिवमा दीपेन्द्र रुपाली, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र कोषाध्यक्षमा दीपकबहादुर सिंह र दलित सदस्यमा शेरबहादुर सुनारको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यको सात पदमा भने नौ जनाको उम्मेदवारी परेकाले यो पदमा पनि निर्वाचन हुनेछ ।
सङ्घमा एक हजार सात सय बढी सदस्य रहेका थिए भने निर्धारित समयमा एक हजार २ सय ८४ जनाले नवीकरण गराएका छन् । उनीहरूले मात्रै मताधिकार पाउने छन् । भदौ ४ गते सङ्घको ३४औँ साधारण सभा एवं १२औँ कार्यकारिणी समिति चयनको उद्घाटन गरिएको थियो ।
गत निर्वाचनमा पनि झिनो मतका साथ पराजित हुनुभएका अध्यक्षका उम्मेदवार भोजराज भट्ट यस पटक चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । उहाँले हरेक बेला व्यावसायिक मुद्दामा केन्द्रित रहेकाले सबैले सहयोग गर्ने विश्वासका साथ उम्मेदवारी दिएको बताउँछन् । आफ्नो जित हुनु नै उद्योगी व्यवसायीहरूको जित हो भट्ट भन्छन्,लामो समय देखि सङ्घमा आबद्ध भएर काम गरेको छु व्यवसायीहरूका सुख दुखमा साथ दिँदै आएको छु त्यसैले जित्ने मेरो आधार हो ।
उता अध्यक्षका अर्का प्रत्याशी द्विजराज भट्ट भन्छन्, संस्थाका लागी मैले पनि काम गर्दे आएको छु त्यसैले मतदाताको रोजाइमा छु जित्ने आधारहरू रहेको दाबी गर्छन् । वर्तमान जिल्ला कार्यसमितिका प्रथम उपाध्यक्ष भट्टले सङ्घलाई नयाँ नेतृत्व र सक्रिय नेतृत्व दिएर अघि बढ्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्