तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज साँझ घर घरमा चौरचन पर्व मनाईदैछ । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थी तिथिका दिन घर घरमा विधि पूर्वक चन्द्रमाको पूजा आराधना गरेर चौरचन पर्व मनाइन्छ ।

घर घरमा व्रती तथा घरपरिवारका सदस्यहरु चौठीचाँद अर्थात् चौरचनमा प्रयोग हुने प्रसादहरू तयार पारिरहेका छन् । यस पर्वमा पुडुकीया, खजुर, मिष्ठान्न घर घरमा आज बिहान देखि तयार पर्ने काम भइरहेको छ । मिथिलाञ्चल क्षेत्रमा मानव सहित समस्त चराचर जीवजन्तु तथा वनस्पतिलाई प्रत्यक्ष फाइदा दिने छठमा भगवान् सूर्यको तथा चौरचनमा चन्द्रमाको पूजा गर्ने चलन रहेको छ ।

घरका मूल व्यक्तिले दिनभरि व्रत बसेर साँझ पख उदाउन लागेको चन्द्रामाको विशेष विधि पूर्वक पूजा गर्ने चलन रहेको छ । यसमा व्रतीले घर, आँगन तथा घरको कौशीलाई सफा सुन्दर बनाएर लिपपोत गरि चावलको पिठोले अरिपल बनाएर त्यसमा विभिन्न डालामा सजाएको प्रसादहरू राखी पूजा गर्ने चलन रहेको छ ।

यस पर्वमा मिष्टान्नका अतिरिक्त फलफूल, नरिवल, दही तथा खीर पूरी चन्द्रभगवानलाई अर्पण गर्ने चलन रहेको छ । विशेष मन्त्रले पूजा गरिसकेपछि घरका हरेक सदस्यहरुले हातमा फलफूल सहितको डालो, माटाको भाँडोमा तयार पारिइएको दही हातमा लिएर भगवान् चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ । यस पर्वमा घरको सदस्य सङ्ख्याको आधारमा प्रसादको डाला तथा दही तयार गर्ने चलन रहेको छ ।

खास गरेर आजको दिन चन्द्रमाको विधिपूर्वक पूजा अर्चना गरेर दर्शन गरेको  खण्डमा घर परिवारमा लागेको मिथ्या आरोपबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । मिथिलाञ्चलमा मनाइने ठूला पर्व मध्ये चौरचन पर्व पनि एक रहेको छ ।

पर्वको समापन पछि प्रसादको रुपमा घरपरिवारका सदस्यहरूलाई वितरण गरेर व्रतीले आफै पनि खाने चलन रहेको छ । व्रत सकेको भोलि पल्टबाट एक सातासम्म कोसेलीको रुपमा इष्टमित्र तथा आफन्त कहाँ प्रसादको रुपमा तयार पारिएको परिकारहरू पठाउने चलन रहेको छ ।

उता गणेश चौँठीको अवसरमा जनकपुरधामको रामचौकमा रहेको गणेश मन्दिरमा विशेष पूजापाठको आयोजना गरिइएको छ । यसै गरि जनकपुरधामको बाल्मिकीनगर, धत्ता टोल सहितको ठाउँमा तीन दिनसम्म गणेश उत्सव पर्व धुमधामका साथ मनाइन्छ । जनकपुरधामको बाल्मिकीनगरमा तीन दिनसम्म धार्मिक मेलाका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button