तपाईँ सुन्दै हुनुहुन्छः

पाकाका अनुभव र युवाको जोसलाई सदुपयोग गर्न सके देश समृद्ध बन्छ : वनमन्त्री यादव

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पाकाका अनुभव र युवाको जोस जाँगरलाई सही सदुपयोग गर्न सके देश विकासमा ठुलो टेवा पुग्ने बताउनु भयो । 

वीरगंजबाट प्रकाशित मध्यनेपाल मिडिया प्रालिको छैँठौ वार्षिकोत्सवको अवसरमा आयोजित ’नेतृत्वमा युवा की पाका” विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले समय र परिस्थिति अनुसार देश र समाजका लागि युवा र पाका व्यक्ति दुवैको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । 

उहाँले राजनीति लगायत हरेक क्षेत्रमा युवाको सृजनशीलता र पाकाको अनुभवको सही प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिने बताउँदै पाका उमेरका व्यक्तिहरू युवासँग भएको प्रविधि र ज्ञानको भरपुर सदुपयोग गर्न हिचकिचाई रहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले युवा तथा पाका दुवै थरीका व्यक्तिले राष्ट्र सञ्चालन लगायत हरेक क्षेत्रमा राम्रो काम गर्न सक्ने दाबी गर्दै पाकाका अनुभव, ज्ञान सिपलाई युवामा परिमार्जित गर्दै युवा उमेर समूहकालाई अबका दिनमा राजनीतिमा समेत प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताले युवा मात्र नभई महिलाको सहभागिता र सक्रियता समाजका हरेक क्षेत्रमा हुनु पर्ने कुरामा जोड दिँदै युवा र महिलाको सहभागिता विनाको समाजले उन्नति गर्न नसक्ने दाबी गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद, बीरगंज युवा समाजका कमल चौलागाई, कोपिला चौलागाई , निला राम , ओम श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

सो अवसरमा मध्यनेपाल सन्देश साप्ताहिक पत्रिकाको तर्फबाट समाजमा शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्योग वाणिज्य क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई मन्त्री यादवले सम्मान समेत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button