रोमानिया जाने कामदारको सहजताका लागि ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ ।
रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
यसअघि रोमानिया जाने नेपालीहरूले उताबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि भिसा प्राप्तिका लागि आवेदन दिन छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो ।
यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेका रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिशन स्थापना गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ ।
रोमानियन मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिसनले तोकेको भिसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन, वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध समेत गरेको छ ।
साथै, रोमानियन अधिकारीहरूसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने भएको हुँदा कसैले पनि यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा यस मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी सूचना दिनु पनि मन्त्रालयले आव्हान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्