नेपाल र बंगलादेशबीच ऊर्जा सहसचिव स्तरीय वार्ता आजदेखि काठमाडौँमा सुरु
काठमाडौँ । नेपाल र बंगलादेशबीच ऊर्जा सहसचिव स्तरीय वार्ता काठमाडौँमा आजदेखि सुरु भएको छ ।
ऊर्जा सचिव स्तरीय वार्ताका लागि एजेन्डा तय गर्न आजबाट दुई देशका सहसचिव स्तरीय बैठक सुरु भएको हो ।
सह सचिव स्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी) को वार्तामा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले नेतृत्व गरिरहनुभएको छ ।
बङ्गलादेशको तर्फबाट त्यहाँको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिवको नेतृत्वको टोली सहभागी रहेको छ ।
सह सचिव स्तरीय बैठकले तय गरेका एजेन्डालाई भोलि बिहीबार बस्ने सचिव स्तरीय बैठकको छलफलमा प्रस्तुत गरिने छ ।
भोलि हुने ऊर्जा सचिव स्तरीय बैठकको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले गर्नुहुनेछ भने बङ्गलादेशको तर्फबाट बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमानले गर्नुहुनेछ ।
बङ्गलादेश नेपालमा जलविद्युत् निर्माण गरी आफ्नो देशमा लैजान चाहन्छ । उसले सुनकोसी तेस्रो (६८३ मेगावाट) मा चासो देखाएको छ ।
बङ्गलादेशका सचिवलगायत टोलीले उक्त आयोजनाको निर्माणस्थल र प्रस्तावित जलाशय क्षेत्रको अवलोकन समेत गरिसकेको छ ।
यसैगरी बङ्गलादेशले खिम्ती शिवालय (१५४७ मेगावाट) पनि बनाउने चासो देखाएको छ ।
नेपाल बङ्गलादेशलाई जलविद्युत् आयोजना निर्माण गर्न दिन पनि तयार छ । बङ्गलादेश पनि बनाउन तयार छ । तर बीच बाटोमा भारत भएकाले उसले अहिलेसम्म बिजुली जाने बाटो दिने नदिने विषयमा भने टुड.गो लागि सकेको छैन ।
बैठकमा नेपाल र बङ्गलादेश बीच विद्युत् व्यापारका सम्भावनाहरू, नेपालको जलविद्युत्मा लगानीका सम्भावनाहरू,दुई देश बीच सीमापार विद्युत् व्यापारका सम्भावना,नेपालको जलविद्युत् विकासमा बङ्गलादेशका कम्पनीहरूको सहभागिता, नेपालको माथिल्लो कर्णालीबाट उत्पादन हुने ९०० मेगावाट मध्ये बङ्गलादेशले आयात गर्ने ५०० मेगावाट विद्युत्को प्रगति सम्बन्धी विषयमा छलफल, द्विपक्षीय क्षमता वृद्धिसम्बन्धी र उपक्रम लगायतका विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्