तपाईँ सुन्दै हुनुहुन्छः

बिरिङ खोलामा फालिएको फोहोरबाट हैजा फैलिन सक्ने भन्दै स्थानीयवासी त्रसित 

झापा । झापाको बिरिङ खोलामा फालिएको फोहोरबाट हैजा फैलिन सक्ने भन्दै स्थानीयवासी त्रसित भएका छन् । 

बिर्तामोडका केही अस्पतालले मानव अङ्गसहित अस्पतालजन्य फोहोर फालेको स्थानीयले फेला परेका छन् । 

स्थानीय युवा अभय राजवंशीले अस्पतालले फालेका फोहोरको भिडियो गरेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । 

पूर्वपश्चिम लोक मार्गदेखि तीन किलोमिटर दक्षिणमा फोहोरका पोका फालिएको छ । फोहोरका कालो पोकामा मान्छेका आन्दाभुँडीदेखि सिरिन्चसमेत फेला परेको अभियन्ता गणेश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरका पोका खोलेर हेर्न सकिने अवस्थामा छैन ।

विरिङमा बिर्तामोडको कनकाई हस्पिटल, मनमोहन अस्पताल र बिर्तामोड आँखा अस्पतालको फोहोर भेटिएको छ । 

खोलामा फोहोर फालेपछि कनकाई नगरपालिका वडा नं. ९ ले फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापालाई पत्र लेख्दै वडाले कारबाहीको माग गरेको हो ।

मङ्गलवार विरिङ खोलामा अस्पतालजन्य फोहोर फालेको भेटिएको थियो । वडाले कारबाहीका लागि लेखेको पत्रमा मनमोहन अस्पताल बिर्तामोड, कनकाई हस्पिटल बिर्तामोड र बिर्तामोड आँखा अस्पतालको फोहोर फेला परेको उल्लेख गरिएको छ ।

मानवीय जीवन, जैविक विविधता र पर्यावरणमा गम्भीर असर पुग्ने गरी गरिएको कार्यप्रति सबैले विरोध जनाएका छन् । सो कार्यमा संलग्न बारे जाँचबुझ गरी दोषी उपर कारवाहीको लागि माग गरिएको वडा नं. ९ का अध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीले जनाउनुभएको छ ।

बिर्तामोडस्थित मनमोहन अस्पतालका सञ्चालक रोमणी भट्टराईले सार्वजनिक क्षेत्रमा फोहोर फाल्न नपठाएको जानकारी दिनुभयो । 

उहाँले फोहोर उठाउने कम्पनीले आफ्नै जग्गामा फोहोर व्यवस्थापन गर्ने सम्झौता अनुसार उठाउन दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो गम्भीर त्रुटि भएको छ । हामी पनि सोधी खोजी गरिरहेका छौँ । खोलामा फोहोर फालिएकाले फाल्नेलाई सरसफाइ गराउने सोच बनाएका छौँ ।”

मनमोहनका कर्मचारी गुरुप्रसाद निरौलाले सुनिल मलिकलाई फोहोर उठाउने जिम्मा दिएको जानकारी दिनुभयो । 

मलिकले आफ्नो जग्गामा फोहोर फाल्ने सम्झौताका आधारमा मात्रै फोहोर उठाउन दिएको बताउनुभएको छ । 

कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले उक्त फोहोरका कारण कनकाईबासी प्रभावित हुने भएकोले तत्काल व्यवस्थापन गर्न अस्पतालहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button