तपाईँ सुन्दै हुनुहुन्छः

‘आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ’

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उहाँको भनाइ थियो ।

उहाँले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताउनुभयो । समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता काममा राजनीतिक आस्था र विचारको पछि लाग्न नहुने टिप्पणी गर्नुभयो ।

मन्त्री पौडेलले गृह नगर बागलुङ नगरपालिका–१२ अमला चौरमा रहेको भैरव स्थानमा प्रथम हरेलो मेलाको समापन कार्यक्रममा कला, संस्कृतिको संरक्षण र पर्यटनको विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बलेवा क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताउनुभयो ।

मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो । सोमबार र मङ्गलबार दुई दिन सञ्चालित मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button