तपाईँ सुन्दै हुनुहुन्छः

साउनमा आयात घट्यो

काठमाडौँ । चालु वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घटेको छ । यस अवधिमा १ खर्ब ३१ अर्बको सामान आयात भएको छ ।

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा आयात घटेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।

यो महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ । यस अवधिमा निर्यात गत वर्षको तुलनामा २८.६८प्रतिशतले घटेको छ । गत वर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ ।

यसैगरी यस अवधिमा नेपालको व्यापार घाटामा १४ प्रतिशतले सुधार भएको छ । गत वर्ष १ खर्ब २९ अर्ब व्यापार घाटा रहेकोमा यो पटक १ खर्ब १६ अर्बमा झरेको छ । आयातबाट मात्रै सरकारले ३१ अर्ब ९६ करोड राजस्व सङ्कलन गरेको छ । यो महिनामा पनि आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ अग्रपङ्क्तिमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button