तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम

नयाँदिल्ली ।  भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम भएको  छ । 

यहाँ २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । 

यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात् आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् ।

गत २४ घण्टाको समय अवधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । 

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button