दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलद्वारा सभामुखसँग शिष्टाचार भेट
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।
सभामुख सापकोटासँग उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारबीच सुमधुर सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौँको फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको धारणा राख्नुभयो । नेपाल र दक्षिण कोरियाबिच उच्च समझदारी विकास गरेर जानुपर्ने उहाँको भनाई थियो ।
भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरू दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई माया गर्ने सांसदहरु रहेको बताउनुभयो । नेपाली कामदारहरू मेहनती भएकोले रोजगारदाताहरूले नेपाली कामदारलाई मन पराउने गरेको उहाँको भनाई थियो । प्रतिनिधि मण्डलका सदस्यहरुले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रम मन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभएको थियो ।
वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने बताउनुभयो ।
प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक लगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्