तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन लडेका ९ नगरप्रमुख, १८ गाउँपालिका अध्यक्ष सहित ९९७ जनाले खर्च विवरण बुझाएनन्

अछाम । अछाममा नगरपालिकाको प्रमुखका ९ जना उम्मेदवार, गाउँपालिकाको अध्यक्षका १८ उम्मेदवारले सहित ९९७ जनाले निर्वाचन खर्चको विवरण नबुझाएको पाइएको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालय अछामले ७ दिने स्पष्टीकरण सोधेको छ ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाब किताब नबुझाउने उम्मेदवारको नाम समेत सार्वजनिक गरिएको छ ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिएका अछामका पाँच पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेश गरेकोमा पाँच पालिकामा निर्वाचितले अहिलेसम्म पनि खर्चको विवरण पेश गरेका छैनन् । 

खर्चको विवरण पेश गर्नेमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर र नगर उपप्रमुख शिव बहादुर शिलोज, नेकपा एमालेबाट मेयरका उम्मेदवार बन्नुभएका पशुपति कुँवरले पनि खर्चको विवरण पेश गर्नु भएको छ । मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा र नगर उपप्रमुख सङ्गीता कुमारी रावल, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख शारदा विष्टले तोकिएको समयमै खर्चको विवरण पेश गर्नुभएको छ ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद र उपाध्यक्ष नृप बहादुर खड्का र नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भीमबहादुर खड्काले निर्वाचन खर्च बुझाउनुभएको छ । यस्तै तृर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी र उपाध्यक्ष विमला शाहीले विलम्ब गरी खर्च विवरण बुझाएको निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिनुभयो । 

पञ्चदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावलले खर्चको विवरण बुझाउनु भएको छैन । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामबहादुर विकले भने समयमा खर्चको विवरण बुझाउनुभएको छ । नेकपा एमालेबाट मेयरका उम्मेदवार नन्द सिंह कडायत र एकिकृत समाजवादीका योगेन्द्र विष्टले पनि खर्चको विवरण बुझाउनुभएको छैन । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउद, उपाध्यक्ष सरदेवि खड्काले निर्वाचनमा भएको खर्चको विवरण पेश गर्नुभएको छैन । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार रामबहादुर आउजी र एकिकृत समाजवादीबाट अध्यक्ष उम्मेदवार हर्क साउदले पनि खर्चको विवरण पेश गर्नुभएको छैन ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउद र उपाध्यक्ष बिन्दु रावल, एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार लोकेन्द्र साउद, स्वतन्त्र उम्मेदवार डम्बर स्वाँर, तारा प्रसाद पाण्डेले पनि खर्चको विवरण पेश गर्नुभएको छैन । रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउद, उपाध्यक्ष सृजना बुढा, नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार चक्र रावल र माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पहल साउदले पनि हालसम्म खर्चको विवरण पेश नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, उपाध्यक्ष नेत्रकला शाही, र एकिकृत समाजवादी अध्यक्षका उम्मेदवार शेरबहादुर बुढाले अहिलेसम्म पनि खर्चको विवरण बुझाएका छैन । तर एमालेबाट अध्यक्षका उम्मेदवार बनेको धर्म शाही र उपाध्यक्षका उम्मेदवार माया बुढाले विलम्ब गरी खर्च विवरण बुझाएका छन् । 

मंगलसैन नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार नमबहादुर शाही, कमलबजार नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका कटक बहादुर साउद, तुर्माखाँद गाउँपालिका काँग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर बुढा, समाजवादीका डवल चलाउने, माओवादी केन्द्रका मनबहादुर वयकले पनि अहिलेसम्म खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । पालिकाका प्रमुख, उपप्रमुख मात्रै हैन अधिकांश वडा अध्यक्ष र सदस्यले पनि खर्च विवरण बुझाएका छैनन् । 

निर्वाचन खर्चको विवरण पेश नगर्नेहरूलाई आयोगले स्पष्टीकरण एक साताभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिएको छ । तोकिएको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकै पिच्छे १५ हजार रुपैयाँ जरिवाना गर्न सक्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button