२१ प्रतिशत नेपाली निर्धारित क्यालोरी भन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य
काठमाडौँ । राष्ट्रिय स्तरमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा झन्डै २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य छन् ।
नेपालमा अझै पनि सात दशमलव आठ प्रतिशत मानिस खाद्य असुरक्षाबाट पीडित छन् ।
राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनाले विज्ञहरुको सहभागितामा यही भदौ १ र २ गते काठमाडौँमा खाद्य सुरक्षाका विषय आयोजना गरेको कार्यशाला गोष्ठीले खाद्य असुरक्षाका विभिन्न पक्ष केलाएर सरकारलाई सुझाव पेस गरेको छ ।

कार्यशाला गोष्ठीले खाद्य अधिकार र खाद्य सम्प्रभुताको सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन र खाद्य सम्प्रभुताको सुनिश्चितता गर्नुपर्ने, कृषि क्षेत्रको प्रतिस्पर्धाको क्षमता बढाउँदै कृषिमा युवाको आकर्षण बढाउनुपर्ने र आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता समेत औँल्याएको नेपाली सेनाका सहायक रथी तथा परिषद्का सहायक संयोजक कृष्णराज आचार्यले बताउनुभयो ।
विज्ञ सहभागी उक्त छलफलले एकीकृत कृषि कानुन तर्जुमा र कार्यान्वयन तथा अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय र सहकार्यको संरचनागत परिवर्तनको जरुरी रहेको औँल्याइएको छ ।
कृषिको व्यावसायिकीकरण तथा औद्योगीकरण गर्न, अनुसन्धानमा आधारित कृषि नीति तर्जुमा गर्न, परम्परागत धानबाहेक बालीको उत्पादन तथा उपभोग बढाउन, नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)लाई थप सक्रिय बनाई हाइब्रिड बालीलाई विस्तार गर्न र कृषियोग्य जमिनको खण्डीकरणलाई रोक्ने विषयमा पनि सरकारलाई राय सुझाव दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्