तपाईँ सुन्दै हुनुहुन्छः

बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित : मन्त्री कार्की

इनरुवा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर घरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताउनुभयो ।  

देशमै रोजगारी नहुँदा युवा खाडी मूलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताउनुभयो । 

स्वदेशमै रोजगारीको सृजना नहुँदा युवायुवती विदेश जान बाध्य भएको उहाँको भनाइ थियो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी र गरिबी अन्त्य गर्न आवश्यक भएको मन्त्री कार्कीले बताउनुभयो । 

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल तथा सरोकारवालाको सहभागिता थियो । 

यसैबीच मन्त्री कार्कीले आजै बाढीपीडित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ८ मा बाढीबाट प्रभावित क्षेत्रको उहाँले निरीक्षण गर्नुभएको हो । 

उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिनुहुँदै मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button