वीरगंजमा रोकिएका १ हजार ५ सयभन्दा बढी गाडीको जाँचपास खुल्ला हुने

बीरगंज । वीरगंज भन्सार आइसिपी तथा सिर्सिया सुख्खा बन्दरगाह कार्यालयमा विगत लामो समयदेखि थन्किएका झण्डै १५ सयभन्दा बढी चार पाङ्ग्रे सवारी साधन अब छुट्ने भएका छन् ।
सरकारले विलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय लिनु अगाडि नै बैङ्किङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएका माल वस्तु भित्र्याउन पाउने निर्णय गरेसँगै वीरगंजका दुई भन्सारमा रोकिएका सवारी साधनहरू छुट्ने भएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो ।
यससँगै वीरगंजका दुई भन्सारमा रोकिएका १५ सयभन्दा बढी गाडीको जाँचपास खुल्ला हुने भएको छ ।
मन्त्रालयका अनुसार १३ वैशाख २०७९ भन्दा अगाडि बैङ्किङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएको हकमा माल वस्तु पैठारी गर्न बाधा नपर्ने निर्णय भएको छ । करिब ६ अर्ब रुपैयाँ बराबरको नयाँ गाडीहरू भन्सारमा रोकिएका छन् ।
व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर वीरगन्ज नाकामा ल्याइपुर्याइएको सवारी साधन वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना संशोधन नगरेका कारण रोकिएका थिए ।
भन्सार नाकामा रोकिएका जिप, कार अलपत्र हुने भएपछि व्यवसायीले राजपत्रमा प्रकाशित त्रुटि सच्याउन माग गर्दै आइरहेका थिए ।
सरकारले स्वदेशी ढुकुटीमा डलर सञ्चिति घटेको भन्दै १३ वैशाखमा बिलासी र महँगा गाडीसहित १० प्रकारका वस्तु आयात असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्