मन्त्रालयका काम कारबाही थप प्रभावकारी बनाउँछौँ: मन्त्री यादव
काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज आयोजित ‘सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी’ बैठकमा उहाँले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्याइने खालका काम र योजना अघि सारिने बताउनुभयो । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उहाँको भनाइ थियो ।

यसैगरी मन्त्री यादवले सात वटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वनजङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवर्द्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआईए स्वीकृत
यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको छ ।
मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवर्द्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्