तपाईँ सुन्दै हुनुहुन्छः

ड्रागन खेती फस्टाउँदै….

कञ्चनपुर । कञ्चनपुरमा ड्रागन खेती फस्टाउँदै गएको छ । नौलो तथा मिठो फलका रूपमा चिनिने ड्रागन खेतीको राम्रो उत्पादन हुन थालेपछि व्यवसायी हर्षित देखिन्छन् । 

पूर्व बन अधिकृत रमेश चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताले वेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालि दर्ता गरी दुई वर्ष अगाडि लगाएको ड्रागनले फल दिन थालेको छ । 

नौलो व्यवसाय भएकोले कस्तो हुन्छ भन्ने चिन्ता लिएका उहाँहरू फल लागेपछि हर्षित हुनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनामा करिब साढे चार करोडको लगानीमा ड्रागन खेती गरिएको प्रालिका अध्यक्ष रमेश चन्दले बताउनुभयो । 

वेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिले नेपालमै पहिलो पटक एकै ठाउँमा ६ बिघा क्षेत्रफलमा २४ हजार बिरुवा रोपेर खेती सुरु गरेको थियो । सिउँडी प्रजातिको उक्त ड्रागन खेतीको सुरुवात कोरोना कहरकै बेला गरिएको हो । 

कोरोनाको बिचमा बढ्दो बेरोजगारीलाई मध्यनजर गरेर स्थानीय स्तरमै रोजगारी स्थापना गर्न ड्रागन फलको व्यवसाय सुरु गरिएको प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले जानकारी दिनुभयो । 

उक्त कार्यमा हालसम्म भीमदत्त नगरपालिकाले सोलार र थोपा सिचाइमा ५ लाख तथा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुरले ३० लाख रकम अनुदान दिएको र बाँकी लगानी बैङ्कबाट ऋण लिएर गरेको उहाँले बताउनुभएको छ । 

एक पटक लगाएपछि २५ वर्षसम्म फल दिने ड्रागन खेतीमा सुरुमा लगानी बढी लाग्ने भए पनि पछि भने राम्रो फाइदा दिने भएकोले यस तर्फ आकर्षण बढेको महताको भनाइ छ । 

बाँझो तथा केही पनि खेती गर्न नमिल्ने तर सुख्खा जमिनमा यसको खेती गर्न सकिन्छ । जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन अन्य सिजन पनि गरी वर्षमा चार पटकसम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम निरन्तर चलिरहन्छ । 

ड्रागनको एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । गर्मी ठाउँमा खेती गर्न सकिने ड्रागनलाई बहु गुणी फलका रूपमा लिने गरिएको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button