‘सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रका भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कुशवाहा कल्याण समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले संवृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उहाँले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो ।
समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरूले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस
तस्वीरः नेपाल टीभी अनलाइन








प्रतिक्रिया राख्नुहोस्