तपाईँ सुन्दै हुनुहुन्छः

समयमा मर्मत नहुँदा झापाका सडकखण्डमा दुर्घटनाको जोखिम बढ्यो

झापा । समयमा मर्मतसम्हार नहुँदा झापाका भित्री सडकहरूमा दुर्घटनाको जोखिम बढेको छ । बिर्तामोड–९ स्थित विराटपोखरीबाट आर्दशचोक–हल्दिबारी सडकखण्ड जोड्ने कच्ची सडकमा केही समयअघि आएको बाढीले क्षति पु¥याएपछि लामो समय भइसक्दा पनि मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

उक्त सडकमा दुर्घटना हुने क्रम बढेको स्थानीय तेजप्रसाद सिटौलाले बताउनुभयो । पहिले उक्त बाटो यात्रा नगरेका एक व्यक्तिलाई उद्धार गरी राति मोटरसाइकल सिटौलाको घरमै राखेर आफन्तलाई बोलाएर पठाइएको उहाँले बताउनुभयो ।

यस्तै समस्या झापाका अन्य स्थानीय तहहरूमा पनि छ । कनकाई नगरपालिकाको भित्री सडक कनकाई बजार हुँदै टेक्रा जोड्ने सडकमा पनि दुर्घटनाको जोखिम बढेको स्थानीयहरू बताउँछन् । बर्खाको समयमा कच्चिबाटोमा खाल्डा–खुल्डी परेको र खाल्डामा पानी जमिदा सवारी दुर्घटनाको जोखिम बढेको हो ।

उक्त बाटो पहिले यात्रा नगरेका र रातको समयमा हिँड्ने मोटरसाइकल, ट्याम्पो दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको स्थानीय युवा बालकृष्ण आलेले बताउनुभयो ।

केही साता अघि परेको वर्षा र बाढीले झापाका भित्री सडकहरूमा धेरै क्षति पु¥याएको छ । धेरै ठाउँमा पहिले नै जनप्रतिनिधिहरूलाई जानकारी गराए पनि बाढीले पुनः बगाएर क्षति पु¥याउने भन्दै मर्मत नगरिएको बताइएको छ ।
तर, सडक अवरोध हुँदा एकातिर पैदलयात्री सास्ती भोग्न बाध्य छन् भने अर्कोतिर दुर्घटना हुन थालेको स्थानीयले बताउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button