‘द्रुतमार्ग यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ’
काठमाडौँ । रक्षा मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन पनि दिनुभयो ।
रक्षा मन्त्रालय मुलुकको प्रतिरक्षा जस्तो संवेदनशील र जिम्मेवारी बोकेको मन्त्रालय भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र एकता जस्ता महत्त्वपूर्ण विषय यस मन्त्रालयको कार्यक्षेत्र रहेको बताउनुभयो ।
आज क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप पेचिलो बन्दै गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका सुरक्षा चुनौतीका बीच मुलुकको समग्र राष्ट्रिय सुरक्षा नीतिमा कुनै आँच आउन नहुनेमा जोड दिनुभयो ।

नेपालको संविधान २०७२ को धारा २६७ अनुसार नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापन लगायतका कार्यमा परिचालन गर्दै आइएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली सेनाले पाएको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले चालु आवमा हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने गरी अघि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले नेपाली सेनाले देशभित्र मात्रै नभई देश बाहिरसमेत शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति मिसनमा भूमिका बढाउनका लागि सरकारका तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री देउवाले आन्तरिक तथा बाह्य शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सेनाले पुर्याउँदै आएको सहयोगलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा सेनालाई थप साधनस्रोत सम्पन्न गराई आधुनिक र व्यावसायिकता सुदृढीकरणमा सरकारले जोड दिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुक यतिखेर आगामी मङ्सिरमा हुने प्रदेश र सङ्घीय निर्वाचनमा उन्मुख भएको जानकारी गराउँदै सबैसामु निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सेनाले वचन दिए अनुसारको काम हुन नसकेको स्मरण गराउँदै द्रुतमार्ग निर्माण सम्पन्न गर्नसके इन्धनमा मात्रै अर्बौँ बचत हुने भएकाले छिटो निर्माण सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा मुख्यसचिव शङ्करदास वैरागीले द्रुतमार्ग ठूलो महत्त्वको परियोजना भएकाले यसबाट मुलुकले धेरै ठूलो आर्थिक लाभ लिन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै संयन्त्र बनाएरै भए पनि योजना सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
बैठकमा रक्षा सचिव किरणराज शर्माले मन्त्रालय र मातहतको एकीकृत रूपमा विश्लेषण गर्दा पुँजीगततर्फ ६१ दशमलव ९७ र भौतिक प्रगति ६५ दशमलव ०५ प्रतिशत हासिल भएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले आयोजना समयमै निर्माण सम्पन्न गर्ने कोसिस नेपाली सेनाले जारी राखेको जानकारी दिनुभयो ।
बैठकमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्