तपाईँ सुन्दै हुनुहुन्छः

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताउनुभएको छ ।

सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने बताउनुभएको उहाँको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उहाँले भन्नुभयो, “विमानस्थल निर्माणका नाममा वन विनाश गर्न दिइने छैन, सम्मानित अदालतलाई म धन्यवाद दिन चाहन्छु, रूख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो षड्यन्त्र हुन दिन्न ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधैँ सकारात्मक रहेकाले सबैभन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५०० हेक्टर जमिन खाली हुनुपर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनुपर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, “मुआब्जा पाइसकेको जमिन खाली गरियोस्, विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रूख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।” 

यसैगरी मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुभयो ।

सोही कार्यक्रममा मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वनजङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनाका साथै वनको विकासमा ठूलो योगदान पुगेको बताउनुभयो । 

मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियत वन, निजी बनहरूले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वन कर्मचारी तथा विभिन्न सामुदायिक बनहरूले वनको जग्गा जमिन संरक्षण गर्नुका साथै वनजङ्गल जोगाउन ठूलो योगदान दिनु भएको छ, यसैकारण देशमा हरियाली छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button