तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन कलेज सञ्चालनका लागि ठाउँ खोज्दै पर्यटनमन्त्री

This image has an empty alt attribute; its file name is %E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो ।

पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच हालै भएको सम्झौता अनुरुप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । सङ्घीयताको मर्म अनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुंइटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीसहितको टोलीले सम्भावित स्थानको अवलोकन गर्नुभएको हो । महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button