तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली दूतावास, बेइजिङद्वारा ३१ चिनियाँ नागरिक सम्मानित

काठमाडौँ । नेपालको तर्फबाट सगरमाथाको आरोहण गरेका ३१ चिनियाँ नागरिकहरूलाई नेपाली दूतावास बेइजिङले सम्मान गरेको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले दूतावास परिसरमा आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रम अन्तर्गत नेपालको पर्वतारोहण प्रवर्द्धनसम्बन्धी ‘नेपालमा पर्वतारोहण तथा पदयात्रा’ विषयक अन्तरक्रियामा पर्वतारोहीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सगरमाथा आरोहीहरूलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्मान पत्र वितरण गर्नुभयो ।

कार्यक्रममा राजदूत विष्णुपुकार श्रेष्ठले पर्यटकहरूको मनोरञ्जन तथा भ्रमणका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेकोले नेपालको भ्रमण गरी लाभ लिन चिनिया नागरिकहरूलाई आग्रह गर्नुभयो ।

राजदूत श्रेष्ठले सगरमाथासहित ८ हजार मिटर भन्दा बढी उचाई भएका ८ वटा हिमालचुलीहरू, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदामा सूचीकृत पर्यटकीय स्थलहरूको बारेमा वर्णन गर्नुभयो ।

नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरूलाई सम्मान गर्ने तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रचुर सम्भाव्यताका बारेमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आरोहीमध्ये तीन जनाले आरोहणका क्रममा लिइएका तस्वीर एवम् भिडियोसहित प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत बेइजिङस्थित चाइना एडभेन्चर एसोसिएसनका अध्यक्ष हान बा, इन्टरनेशनल माउन्टेन टुरिजम यलाएन्सको बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि जु सिगमेन लगायतले नेपालको पर्यटकीय सम्भावनाको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपालको तर्फबाट नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा र टुर एण्ड ट्राभल्स एजेन्ट एसोसिएसन नेपालका अध्यक्ष रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गर्नुभई नेपालको पर्वतारोहण तथा ट्रेकिङको विशेषता एवं आकर्षणको बारेमा प्रकाश पार्नुभयो ।

त्यसैगरी सगरमाथाको चार पटक आरोहण गर्नुभएका चिनियाँ नागरिक श्री सिया बोयुले सगरमाथा आरोहणको आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडियो देखाउनुहुँदै चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा चीनको पर्यटन मन्त्रालयका प्रतिनिधिहरू, नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरू, चीनका टुर एण्ड ट्राभल्स एजेन्टहरू, बेइजिङस्थित नेपाली नियोगमा कार्यरत कर्मचारी, चिनियाँ व्यवसायी एवम् नागरिकहरू, नेपाली समुदायको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button