तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् सर्ट भएर एकजनाको मृत्यु र १२ जना घाइते

पर्वत। पर्वतको जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज बिहान विद्युत् लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छ ।

धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत् लाइनमा आएको समस्याका कारण बस्ती भरीका झण्डै २ दर्जन बढी घरहरूका मिटर बक्समा आगलागी भएको र १२ जना स्थानीय गम्भीर घाइते भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार विद्युत् लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरूका मिटर बक्समा आगलागी भएको हो । विद्युत् लाइन सर्ट हुँदा दजनौं पशु चौपायाहरूको मृत्यु भएको छ भने स्थानीय पशु फार्ममा समेत आगलागी भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो।

घटनाको थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अध्यक्ष आचार्यले बताउनुभयो ।

घटनामा झण्डै ५० बर्षकी सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवराज बुढाथोकीले पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button