तपाईँ सुन्दै हुनुहुन्छः

चुरे संरक्षण विना मधेशको भविष्य छैन: वनमन्त्री यादव

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे संरक्षण विना मधेशको भविष्य नरहने बताउनुभएको छ ।

मन्त्री यादवले वृक्षारोपण गरेर चुरेमा भइरहेको भूस्खलन रोकी मधेशलाई हराभरा बनाउने योजनामा सरकार रहेको उल्लेख गर्नुभयो ।

उहाँले सबैले आ–आफ्नो टोललाई हराभरा बनाउन वृक्षारोपण गर्नुपर्ने कुरामा जोड दिँदै वातावरण हराभरा बनाउँदा प्राकृतिक सम्पदाको संरक्षण हुनका साथै यसबाट मानव जातिलाई नै फाइदा हुने बताउनुभयो ।

राउन्ड टेबल नेपालले आज वीरगञ्ज महानगरपालिका १० स्थित बाल मन्दिर प्राङ्गणमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री यादवले वातावरण विनाश हुँदा चुरेमा भूस्खलन बढ्दै गएकोले मधेश मरुभूमिकरणतर्फ उन्मुख भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

मन्त्री यादवले वृक्षारोपण जस्ता सामाजिक कार्यमा समय खर्चिदा सामाजिक प्रतिष्ठासँगै नयाँ पुस्ताले पनि सकारात्मक कुराहरूको अनुकरण एवम् अनुसरण गर्ने अवसर पाउने बताउँदै उहाँले युवाहरूलाई कुलतबाट बचाउन समेत सामाजिक कार्यमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई हराभरा बनाउने योजनामा बन मन्त्रालयबाट समेत थप सहयोग उपलब्ध हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

त्यस अवसरमा बाल मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button