वीरगञ्जबाट दिल्लीसम्म पैदल यात्रा सुरु
वीरगञ्ज । वीरगञ्जका एक युवाले वीरगन्जदेखि भारतको राजधानी दिल्लीसम्मको पैदल यात्रा आजबाट औपचारिक रुपमा सुरु गरेका छन् ।
आज बिहान वीरगञ्जको घण्टाघर चोकमा वीरगञ्ज महानगरपालिका २ निवासी पैदलयात्री शेख मुन्नालाई नेपाल झन्डा दिएर वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले बिदाइ गर्नुभएको थियो ।

मुन्नाले यसअघि घोषणा गरे अनुरुप आजबाट वीरगन्जदेखि दिल्लीसम्मको १ हजार ६० किलोमिटरको पैदल यात्रा सुरु गर्नुभएको हो ।
नेपाल र भारतको झन्डासहित नेपाली राष्ट्रिय पोसाकमा दिल्ली प्रस्थान गरेका मुन्नालाई बिदाइ गर्ने क्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।
नेपाललाई विश्वव्यापी रुपमा चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको रोटी–बेटी एवं जनजनको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आफूले पैदल यात्रा सुरु गरेको मुन्नाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्