उपत्यकाका मेयरहरूसँग पर्यटनमन्त्री श्रेष्ठको छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौँ उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरूसँग छलफल गर्नुभएको हो । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना सहित अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउनुहुँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने विषयहरूबारे जानकारी दिनुहुँदै सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्त्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइक्लिङ र अन्य पर्यटन पूर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राख्नुभयो ।
उहाँहरूले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरूबारे पनि जानकारी दिनुभएको थियो । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
काठमाडौँ उपत्यकामा अनगन्ती मूर्त-अमूर्त संस्कृति र सम्पदाहरू रहेकोले त्यसको प्रवर्द्धनका लागि मन्त्रालयले स्थानीय सरकारहरूसँग समन्वय गरी अघि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।
छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत लगायत उपस्थित हुनुहुन्थ्यो ।
मन्त्रालयले हालै पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना सार्वजनिक गरी कार्यान्वयन अघि बढाइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्