सप्तकोसीको कटानबाट २ हजार घर प्रभावित, उद्धार कार्य जारी
सुनसरी । सप्तकोशी नदीले कटान सुरु गरेपछि उदयपुर र सुनसरीको २ हजार घर प्रभावित भएका छन् ।

उदयपुरको बेलका नगरपालिका वडा नं. १, २, ८ र ९ मा सप्तकोशी नदीले कटान सुरु गरेपछि १५ सय परिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटर जति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भैसकेको गृह मन्त्रालयले जनाएको छ ।
विपदमा परेकालाई अस्थायी बास स्थान निर्माण, उद्धार, राहत र घाइते भए उपचारको प्रभावकारी व्यवस्थापन गर्न गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

आजै गृहमन्त्री खाणले बेलकामा सप्तकोसीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्नुभएको छ ।
उहाँले कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्ने भन्ने बारे छलफल गर्नुभएको हो ।
यस्तै उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्री बोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस श्रीलङ्का टापुमा फसेका छन् ।
कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सय जना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरू श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो ।
त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेको र फसेकाहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

सप्तकोसीको बाढीबाट डुबान सुरु भए पश्चात् उक्त स्थानमा खटिएका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन् ।
डुबानबाट प्रभावित स्थानीयलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रदेश प्रहरी गण विराटनगरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको १ न । प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका-८ को सिसौली बस्ती र बेलाका नगरपालिका(३ को भाटेपुल बस्तीमा बाढी पसी डुबानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका-९ स्थित रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक विद्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका प्रमुख सेनानी, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले स्थलगत अवलोकन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्