तपाईँ सुन्दै हुनुहुन्छः

माल्दिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

नयाँ दिल्ली । भारत भ्रमणमा रहनु भएका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको छ । 

उहाँले मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीको निमन्त्रणामा माल्दिभ्सका राष्ट्रपति सोलिहको चार दिने भ्रमण सुरु भएको हो ।

मुख्यगरी धेरै क्षेत्रमा सहकार्य गर्ने गरी बनाइएको दीर्घकालीन योजनाहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न सोलिहले भारत भ्रमण तय गर्नु भएको जनाइएको छ ।

सोलिह नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा माल्दिभ्सका व्यावसायिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । त्यसैले भ्रमणका क्रममा व्यावसायिक विषय पनि उच्च प्राथमिकतामा परेका छन् । 

“छिमेकी मुलुक माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमण हुनु आफैमा सकारात्मक कुरा हो, यसलाई सदुपयोग गर्न आवश्यक छ, दुई पक्षीय हितका लागि आपसी सम्बन्ध बलियो बनाउदैछ लैजानु छ,” भारतको विदेश मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ । 

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँले भ्रमणका क्रममा भारतका व्यवसायीहरूसँग लगानी र व्यवसायीका सहकार्यका बारेमा छलफल गर्नुहुने भएको छ । भारत भ्रमणको सिलसिलामा उहाँ मुम्बई पनि जानेगरी भ्रमण तालिका तय भएको अधिकारीहरूले जनाएका छन् । 

“छिमेकीलाई पहिलो प्राथमिकता” भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउँदै लगेको विदेश मन्त्रालयले जनाएको छ । भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रुपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरूको भनाई छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button