कृषक लक्षित कार्यक्रमले कृषकको जीवनस्तरमा सुधार ल्याउँदै

विराटनगर । कृषि विकास निर्देशनालय प्रदेश नं. १ विराटनगरको तेस्रो चौमासिक तथा वार्षिक समीक्षा गोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको गोष्ठीमा सो कार्यालय अन्तर्गत प्रदेश १ का १४ वटा जिल्लाका कृषि ज्ञानकेन्द्र तथा कृषि सम्बन्धी प्रयोगशालाहरूले गत आर्थिक वर्षमा गरेको काम तथा प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वोल्नुहुदै प्रदेश न १ का कृषि मन्त्री झलकबहादुर मगरले सीमित श्रोत साधनका वावुजुद पनि कृषि विकास निर्देशनालय तथा त्यस अन्तर्गत रहेका कृषि ज्ञान केन्द्रहरूले उल्लेखनीय काम गरेको बताउनुभयो ।
कृषि पेशा प्रति नयाँ आउने युवा पुस्ताहरूलाई आकर्षित गराउन विद्यालय स्तरका पुस्तकहरूमा कृषि सम्बन्धी चेतना बढाउने विषयहरू समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । किसानले कृषि पेशालाई बढावा दिन सरकारले कृषिमा अनुदान दिएको भन्नुहुँदै कृषि अनुदान लक्षित वर्गमा पुर्याएर पारदर्शी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले रासायनिक मलको विकल्पको रुपमा प्रागंरिक मल उत्पादनलाई बढावा दिन आग्रह गर्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोकसाङले किसानले उत्पादन गरेको वस्तुले सही रुपमा बजार पाउन नसकिरहेको अवस्थामा उत्पादित वस्तुको सहज बजारीकरण गरेर किसानको श्रमको सही मूल्याकंन हुनुपर्ने बताउनुभयो ।

कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले, कृषि यान्त्रीकरणमा जोड दिँदै उन्नत बिउको प्रयोग एवं प्रविधिको विकाससँगै कृषिमा व्यावसायिक करण आवश्यक रहेको बताउनुभयो । साना, मझौला तथा ठुला कृषि फर्महरूको पहिचान गरि अनुदान वितरण गर्न सके अनुदान सही किसानहरूले पाउने उहाँको भनाई थियो । बाढी पहिरो तथा कटानका कारण कृषि बालीमा ठुलो क्षति हुने गरेकाले कृषि बिमा कार्यक्रमलाई थप विस्तार गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले कार्यालयले गत आर्थिक वर्षमा ८७ दशमलव ७३ प्रतिशत भारित प्रगति तथा ८० दशमलव ८३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताउनुभयो ।
गत वर्ष सञ्चालित कार्यक्रमबाट ३७ हजार २ सय ६४ किसान लाभान्वित भएको उहाँले जानकारी दिनुहुँदै त्यस मध्ये २० हजार २ सय १३ पुरुष तथा १७ हजार ५१ महिला रहेको बताउनुभयो ।
उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्रमा गत आर्थिक वर्ष सो कार्यालयले प्रदेश १ मा ६४ वटा फलफूल बगैँचाको व्यवस्थापन सुद्धिढिकरण, १८ हेक्टर थप बगैँचा विस्तार, ७१ नयाँ बगैँचा स्थापना, थप ७५ हेक्टरमा कफी खेती विस्तार, १० जिल्लामा माटो परीक्षण शिविर सञ्चालन, ६४ वटा सुन्तला बगैँचाको सुद्धिढिकरण, ७ सय ६२ स्थानमा वालि क्रस कटिङ सम्पन्न गरेको छ ।
त्यस्तै मकै उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत सात हेक्टरमा मकैखेती विस्तार कागती खेती मिसन कार्यक्रम अन्तर्गत ४५ हेक्टरमा कागती खेती थप विस्तार किविखेती विस्तार, ६ वटा अलैँची सुकाउने सुधारिएको भट्टी निमार्ण, १६ वटा कृषि बजार तथा सङ्कलन केन्द्र निर्माण, एक पालिका एक नर्सरी कार्यक्रम विस्तार, प्रांगरिक मल प्रवर्धन कार्यक्रम, बाली विशेष भण्डारण निमार्ण तथा चक्लाबन्दी खेती विस्तार साथै युवा लक्षित च्याउ, मह तथा तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरेको डाँगीले बताउनुभएको छ ।
कृषि अनुसन्धान केन्द्र तरहराका निर्देशक केशव श्रेष्ठ तथा कृषि मन्त्रालय अनुगमन मूल्याकंन महाशाखा प्रदेश १ का प्रमुख पशुपति पोखरेलले कृषि उत्पादनमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्