मुसलधारे वर्षाले किसान हर्षित, सुक्न थालेको धानको रक्षा

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा आज दिउँसोबाट भएको मुसलधारे वर्षाका कारणले किसानहरू निक्कै हर्षित भएका छन् । वर्षाको अभावले किसानहरूले रोपाई गरेको धान खेतमा नै सुक्न थालेका थिए ।
यति मात्र नभएर कतिपय खेतमा जमिन नै फाटेका कारणले वोरिङ्गवाट सिँचाई गर्दा खेतमा पानी टिक्न सकेका थिएन । आज दिउँसोबाट भएको मूसलधारे वर्षाका कारणले किसानहरू निक्कै खुशी भएका छन् भने सुक्न थालेका धानको वेर्ना बाँच्ने आसमा पुगेका छन् ।
महोत्तरीको लोहारपटी नगरपालिकाको महदैयाका किसान सुरेश साहले निक्कै मेहनत गरेर रोपाई गरेको धान खेतमा नै पानीको अभावले सुक्न थालेकोमा आजको वर्षाले धानवालीको प्राण जानबाट बचाएको बताउनु भयो ।
आफूले ऋण लिएर १ विघा क्षेत्रफलमा धानवाली लगाए पनि वर्षाले सुक्न थालेकोमा आजको वर्षाले राहत मिलेको साहले बताउनुभयो । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा आज वर्षा भएको छ ।
यस पटक वर्षा पर्याप्त मात्रामा नभएका कारणले प्रदेशमा ८२ प्रतिशत क्षेत्रफलमा धानको रोपाई भएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष पालले जानकारी दिनु भयो ।
जिल्लागत रुपमा पर्सा, सप्तरीमा ९० प्रतिशत, बारामा ८५ प्रतिशत, महोत्तरी सर्लाही र रौतहटमा ८० प्रतिशत, सिरहामा ७८ र धनुषामा सबैभन्दा कम ७५ प्रतिशतमा धान रोपाई भएको छ । मधेश प्रदेशमा रहेको कूल कृषि योग्य भूमिमा ४ लाख ५ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेका छन् ।
मधेश प्रदेशका जिल्लाहरूमा आज दिउँसो भएको मुसलधारे वर्षाले बाँकी भएको धान रोपाई हुने क्षेत्रफलमा रोपाई हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्