तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको आठ वटै जिल्लामा सवारी दुर्घटनामा वृद्धि

बारा  । मधेस प्रदेशको आठ वटै जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । 

आर्थिक वर्ष ०७६/०७७ मा मधेस प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/०७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय ,पथलैयाले जनाएको छ । 

आर्थिक वर्ष ०७८÷०७९ मा भएका ५ हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन् । 

यो सङ्ख्या आर्थिक वर्ष ०७७/०७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा यो पल्ट ११.८५ प्रतिशतले बढी आएको हो । 

मानिसमा जनचेतना भएको तर कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो । 

मधेश प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५ सय जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । 

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको जानकारी दिएको छ । 

ट्राफिक नियमको पालना नगरी असावधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । 

यसरी सवारी दुर्घटना न्यूनीकरण गर्न मातहतका आठ वटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button