तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सेवाका क्षेत्रमा भेरी अस्पतालको योगदान महत्त्वपूर्ण छ : राज्यमन्त्री केसी

नेपालगन्ज  । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले सीमित स्रोत साधनका बाबजुद भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

भेरी अस्पतालको १३२औँ स्थापना दिवसको अवसरमा भेरी अस्पतालले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका विशिष्ट अस्पतालहरू मध्ये भेरीले विपन्न, गरिब, असहाय असक्त, आम बिरामीहरूको सेवालाई प्रमुख प्राथमिकता दिएको स्मरण समेत गर्नुभयो ।

उहाँले जनताप्रति जबाफदेही हुनुपर्नेमा जोड दिनुहुँदै नैतिकता, इमानदारिता, जिम्मेवारी र कर्तव्य बोध भएर जनताको सेवामा समर्पित हुन स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमालेका सचिव रत्न खत्री, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोक कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा।श्यामसुन्दर यादव, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व नगर प्रमुख धवलशमशेर राणा, प्राध्यापक डा.जनार्दन शर्मा लगायतले स्तरीय सेवा प्रवाहको आग्रहसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गरिनुका साथै ‘म भेरी अस्पतालको प्रमुख भए‘’ शीर्षकमा आयोजना गरिएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगी तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कृत समेत गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईँले जानकारी दिनुभयो । 

त्यस अवसरमा राज्यमन्त्री केसीले भेरी अस्पतालको ‘अक्सिजन’ स्मारिका विमोचन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button