तपाईँ सुन्दै हुनुहुन्छः

‘काँग्रेसलाई कम क्षति हुने गरी तालमेलका विषयमा छलफल जारी’

वीरगञ्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रेस युनियन पर्साले वीरगञ्जको नगर सभा गृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले मङ्सिरको पहिलो सातासम्म हुने प्रदेश र सङ्घीय निर्वाचनसम्म पनि गठबन्धनले निरन्तरता पाउने सङ्केत गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा पनि सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको र सबैभन्दा पुरानो पार्टी भएको कारण पनि काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन कायमै रहने बताउनुभयो ।

नेता कोइरालाले सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै काँग्रेसको भविष्य उज्ज्वल हुने तर्क गर्नुभयो ।

नागरिकता विधेयक पास भएको विषयमा उहाँले मधेशमा धेरै जनताहरूमा खुशी छाएको आफूले पाएको प्रतिक्रिया दिनुभयो ।

प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेताहरू सञ्जय गौतम, रामकृष्ण यादव, शोभाकर पराजुली, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, अजय द्विवेदी, राजकृष्ण अमात्य, वीरेन्द्रलाल नेपाली, महाधिवेशन प्रतिनिधि श्याम पटेल, नेपाली काँग्रेस वीरगञ्ज महानगरका सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button