तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशबाट एक वर्षको अवधिमा श्रोत नखुलेको करिब दुई करोड रकम बरामद

जनकपुरधाम । नेपाल प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड ९२ लाख ६५ हजार ३ सय २० रुपैयाँ बरामद गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानबाट श्रोत नखुलेको उक्त रकम बरामद गरेको हो । 

एक वर्षमा विभिन्न १४ वटा घटनाबाट उक्त स्रोत नखुलेको रकम बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

अवैध वित्तीय कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसारमा संलग्न ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिएका मध्ये आरोप ठहर भएका १७ जनामाथि मुद्दा चलाइएको बरामद रकम विभिन्न भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जानकारी दिएको छ ।  । 

नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी वा अन्य निकायले बरामद गरेको अवैध रकम भने यसमा समावेश गरिएको छैन । 

प्रहरी उपरीक्षक काकीले उनीहरूले आफ्नै प्रतिवेदन तयारी गर्ने गरेकाले यसमा समावेश नगरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button