जापान सरकारबाट मानव संशाधन विकास परियोजनाको लागि ३५ करोड सहयोग

काठमाडौँ । जापान सरकारले नेपाललाई मानवीय संशाधन विकास परियोजना कार्यान्वयनका लागि ३५ करोड अनुदान सहयोग दिने भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित सहयोग सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनि तथा जापान सरकारको तर्फबाट चाल्र्स डि अफेयर्स तामुरा ताकाहिरोले हस्ताक्षर गर्नु भयो ।
त्यसै गरी सोही समारोहमा समझदारी पत्रमा अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रतिनिधि तनका टोमोकोले पनि हस्ताक्षर गर्नु भयो ।

समझदारी अनुसार नेपाल सरकारका अधिकृतहरूलाई जापानमा उच्च शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गरिन्छ । सहयोग अन्तर्गत पहिलो चरणमा नेपाल ८० जना सरकारी कर्मचारीहरूले स्नातकोत्तर अध्ययन सम्पन्न गरी नेपाल फर्किसक्नु भएको छ ।
सहयोग रकम छात्रवृत्तिमा अध्ययन गर्न जाने थप २० जनालाई निजामती कर्मचारीहरूलाई स्नातकोत्तर र दुईजना कर्मचारीहरूलाई पिएचडी तहको अध्ययनका लागि जापानको विश्वविद्यालयहरूमा पढ्न, खान बस्न र बिमा लगायतका कार्यमा खर्च गरिने छ ।
कार्यक्रममा बोल्दै अर्थ सचिव मधुकुमार मरासिनीले सहयोगले नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि योगदान गर्ने बताउनु भयो ।
नेपालस्थित जापानी राजदूतावासका चाल्र्स डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगले नेपालको आर्थिक सामाजिक विकास तथा दुई देशको आपसी सम्बन्ध अभिवृद्धिमा मद्दत पुग्ने बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्