कालिज फार्ममा पसेको चितुवा दुई दिनपछि नियन्त्रणमा

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–७ मकैवारीमा रहेको कालिज फार्ममा शनिवार राति पसेको चितुवालाई सदर चिडियाखानाबाट आएको टोलीले दुई दिनपछि सोमवार नियन्त्रणमा लिएको छ ।
सदर चिडियाखानाबाट आएको विज्ञ टोली र डिभिजन वन कार्यालयको टोलीले संयुक्त रुपमा डाटिङ विधि (गोली हानेर बेहोस बनाउने) बाट चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख थीर बहादुर कार्कीले बताउनु भयो । स्थानीयले ढुङ्गा मुढा गरेकोले घाइते बनेको उक्त चितुवालाई अहिले डिभिजन वन कार्यालय चरिकोटमा राखिएको र आवश्यक उपचार पछि उसको प्राकृतिक वासस्थानमा लगेर छोडिने कार्कीले बताउनुभयो ।

उक्त चितुवाले फार्ममा पसेर एक हजार भन्दा बढी कालिज मारेको सञ्चालक मिङ्गुर शेर्पाले बताउनु भयो । झण्डै दुई बर्ष पुगेका ती कालिज मर्दा फार्मलाई ३० लाख भन्दा बढी क्षति पुगेको सञ्चालक शेर्पाले बताउनु भयो । अहिले ती कालिजहरू २५ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । फार्ममा शनिवार राति दुई बजेतिर चितुवा पसेको अनुमान गरिएको छ । बिहान फार्मका मजदुर कालिजलाई दाना हाल्न जाँदा केही कालिज मरेको भेटेका थिए । त्यसपछि के भएको भनी हेर्न जाँदा चितुवाले आक्रमण प्रयास गरेको थियो ।
वाईल्ड लाइफ एग्रो विथ रिर्सोटको नामबाट झण्डै तीन बर्ष अघि २५ रोपनी जमिनमा फार्म सञ्चालन गरिएको थियो । फार्मको दुई भागमध्ये एक भागमा चितुवा पसेको हो । उक्त भागमा १६ सय ५० वटा कालिज रहेकोमा अब एक डेढ सय वटा कालिजमात्र देखिएको सञ्चालक शेर्पाको भनाई छ । अर्को भागमा दुई हजार वटा कालिज रहेको सञ्चालक शेर्पाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्