महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अन्यौलमा

खोटाङ। सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्रे ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको हो ।
मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी ९२२ किलोमिटर सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर सडकखण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रेको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्रे गर्न सडक विभागसँग योजनाको सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।
रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको जनाइएको छ । देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ ।
रु ५५ करोड ८७ लाखमा विसं २०७७साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा विसं २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक गत चैतदेखि निर्माणको काम ठप्प छ । सुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीयवासी एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “पछिल्लो समय थपिएको समयावधि गत चैत मसान्तमा सकियो”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीको लापरबाहीले सडक कालोपत्रेको कामबीचैमा छाडेर अलपत्र पारेपछि अहिले यातायातका कुनै पनि सवारी साधन सञ्चालन हुने अवस्था छैन ।”
महुरे–फोक्सिङटार सडक कालोपत्रेको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिम्पानी ९राजापानी० खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस–२३ गते करिब ३० मिटर ड्रेन भत्काइ दिएका थिए ।
सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रेको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको वडाध्यक्ष राईले बताउनुभएको छ ।
कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने वा म्याद थप गरेर उसैलाई बाँकी काम पूरा गर्न लगाउने भन्नेमा छलफल भइरहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभएको छ । “कामको प्रगति हेर्दा महुरे–फोक्सिङटार सडकमा ठेहेदारको चरम लापरबाही भएको देखिन्छ”, उहाँले भन्नभयो, “गत असार–२० गते मन्त्री परिषद्बाट जारी सार्वजनिक खरिद ऐनको १२ औँ संशोधनअनुसार सोही ठेकेदार कम्पनीले पुनः काम गर्न पाउँछ तर, अहिलेसम्म काम गर्ने भनेर निवेदन दिएका छैनन् । निवेदन आएको खण्डमा उसैलाई जिम्मा दिइन्छ ।”
प्रमुख इन्जिनियर खकुरेलका अनुसार यसअघि ठेकेदार कम्पनीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहर तथा मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै कालोपत्रेको काममा ढिलाइ गरेको बुझिएको छ । लापरबाहीका कारण अलपत्र सडकका विषयमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन ।
ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्रे सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर ठेकेदार कम्पनी निर्माण स्थलबाट हिँडिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्