पर्वतमा सरोकारवालाहरू बीचको आपसी सहमतिमा नयाँ भाडादर कायम

पर्वत । पर्वत जिल्लामा सञ्चालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाहरू बीचको छलफलमा नयाँ भाडादर कायम भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाहरू बीचको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो ।
नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जीपमा सवार गर्दा प्रतिकिलोमिटर ११ रुपैयाँ र बसमा सवार गर्ने यात्रुले प्रति किलोमिटर १० रुपैयाँ तोकिएको छ ।
त्यस्तै कालोपत्रे, ग्राभेल र पक्की सडकमा यात्रा गर्ने यात्रुले जीपमा ९ रुपैयाँ ५० पैसा र बसमा ९ रुपैयाँ तोकिएको छ ।
यसअघि पर्वतका ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रति किलोमिटर २७ रुपैयाँ सम्म भाडा लिँदै आएका थिए ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले प्रत्येक सडकमा चल्ने सवारी साधनले लिँदै आएको भाडा दर, सडकको दुरी र सडकको अवस्थाको मूल्याङ्कन गरी बैठकमा पेश गरेको थियो ।
बैठकमा यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकासिँदा पनि राज्यले पुरानै भाडादर कायम गर्न खोजेको गुनासो गरेका थिए । हालको नियमानुसार जीपले ९ रुपैयाँ र बसले ८ रुपैयाँ लिने व्यवस्था रहेको थियो ।
पर्वतमा यातायात व्यवसायीको समस्या र मागलाई समेत मध्यनजर गर्दै भाडादर कायम गरिएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगरले जानकारी दिनुभयो ।
सोही बैठकले नयाँ भाडदारलाई सर्वसाधारण यात्रुले देख्ने गरी पारदर्शी तवरबाट यातायातका साधनमा टाँस गर्नका लागि यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ ।
त्यस्तै भाडा निर्धारण गर्ने प्रयोजनका लागि गठित समितिमा पर्वत यातायात प्रालिका हेमशर्मा पौडेललाई सदस्यमा मनोनीत गर्ने निर्णय समेत गरेको छ ।
अटो रिक्साको सम्बन्धमा समेत कुश्मा बजारभित्र रुट कायम भएका जुनसुकै स्थानमा प्रतिव्यक्ति ५० रुपैयाँ र फलेवास नगरपालिकाको रुट कायम भएको क्षेत्रभित्र प्रतिकिलोमिटर १५ रुपैयाँ मात्रै लिन पाउने गरी निर्णय भएको छ । अब भने भाडादर समायोजन भएपछि गाउँदेखि बजार र बजारदेखि गाउँसम्म यात्रा गर्ने यात्रु मर्कामा नपर्ने भएका छन् ।









प्रतिक्रिया राख्नुहोस्