बाढी र पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खण्ड पुनः सञ्चालनमा
लमजुङ । बाढी र पहिरोले अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।
बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयको स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्णरुपमा सवारी साधन सञ्चालन भइरहेको छ । पटक पटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ ।
साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रु उक्त पहिराले नै हैरान भएका थिए ।
डुम्रे–बेँसीसहर ४२ किलोमिटर दूरी रहेको यस सडक हुँदै मनाङवासी बेँसीसहर र बेँसीसहरबाट यस सडक हुँदै विभिन्न सहरमा पुग्ने गर्दछन् । उक्त पहिराले लमजुङ र मनाङबासीलाई बढी समस्या हुनाका साथै बिरामी बोकेका आकस्मिक एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्