प्रदेश प्रहरी कार्यालयद्वारा ३९ करोड २१ लाखभन्दा बढी राजश्व सङ्कलन
सुनसरी । प्रदेश नम्बर १ प्रहरी कार्यालय र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरू बिच सहकार्यको प्रभावकारी कार्यान्वयन हुँदा आर्थिक २०७८÷०७९ मा ८ हजार ५५ बटा मुद्दा दर्ता भएका छन् भने ३९ करोड २१ लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ ।
यस आर्थिक वर्षमा ८ हजार ५५ वटा विभिन्न अपराध सम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई कानुनी कारबाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरू फर्छ्यौट गरिसकेको छ ।
त्यस्तै, कार्यालयले फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यसैगरी, अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।
यसैगरी अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यु.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यसैगरी, ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उलङ्घन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरूलाई कारबाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व सङ्कलन भएको र लागू औषध नियन्त्रणतर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेस २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरू ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ ।
यसैगरी, प्रहरी कार्यतर्फ उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको र प्रहरी आचरण विपरीत कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्