तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनको बसपार्कमा ‘सुपथ पसल’ सञ्चालनमा

पाल्पातानसेनको बसपार्कमा ‘तानसेन सुपथ पसल’ खुलेको छ । 

उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सुपथ पसल सञ्चालन गरिएको हो ।

स्थानीय सहकारी सञ्जालले सुपथ पसल सञ्चालनमा ल्याएको हो । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सुपथ पसलको आज उद्घाटन गर्नुभएको छ । उहाँले बजारको मूल्यमा एक रुपामा ल्याउन प्रविधिको प्रयोग गर्नुपर्ने तथा स्थानीय वस्तुहरूको बिक्री वितरण गर्नुपर्ने बताउनुभयो । 

उहाँले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा थप गर्दै सहकारी सञ्जालले उपभोक्तालाई सेवा गर्नुपर्ने बताउनुभयो ।

तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले तानसेनको मुख्य केन्द्र बसपार्कमा सुपथ मूल्यमा सामाग्री खरिद गर्न पाउने भएपछि उपभोक्ता प्रत्यक्ष लाभान्वित बन्ने बताउनुभयो । उहाँले चुनौतीका बीच सुरु गरिएको सुपथ पसल जंकफूडको स्टोर बन्न नहुने बताउनुभयो ।

तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्य वस्तुहरू प्रविधिको प्रयोग गरी बिक्री गरिने र मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिएर पसल सञ्चालनमा रहने बताउनुभयो । 

तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको बताउनुभयो ।

सुपथ पसलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरू बिक्रीमा राखिएको छ । 

सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध छ । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button