तपाईँ सुन्दै हुनुहुन्छः

आधारभूत अस्पताल सञ्चालनका लागि समिति गठन, नमूना बस्ती हस्तान्तरण गरिँदै

अछाम । अछामको मेल्लेख गाउँपालिकामा रहेको आधारभूत अस्पताल सञ्चालनका लागि समिति गठन गरिएको छ । 

मेल्लेखको चैखुट्टेमा रहेको आधारभूत अस्पताल सञ्चालनको लागि पालिका  अध्यक्ष ज्वालासिंह साउद  अध्यक्ष रहने गरी ९ सदस्यीय आधारभूत अस्पताल  सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको हो । 

गाउँ कार्यपालिकाको बैठकले १५ शय्या आधारभूत अस्पताल  निर्माणको लागि  यस अघि गरिएको ठेक्का रद्द गरी आर्थिक बर्ष २०७९/०८० मा संघीय सरकारको समन्वयमा पुनः ठेक्का आव्हान गर्ने निर्णय समेत गरेको छ । ठेक्का विवादित भए पछि पुनः ठेक्का खोल्ने निर्णय गरिएको हो । 

यसैगरी रिक्त मेडिकल अधिकृतको विज्ञापन गर्ने, आवश्यक स्वास्थ्य सेवाका कर्मचारीको  विज्ञापन र फार्मेसी  सञ्चालनको लागि पनि ठेक्का गरिने जनाएको छ ।

यसैगरी  मेल्लेख ७ नन्देगडा रिठेगाउका सुख्खा पहिरो पीडितहरूका लागि मेल्लेख गाउँपालिका र प्रदेश सरकारको सहयोगमा  निर्माण गरिएको नमुना बस्ती साउन मसान्तभित्र पहिरो पीडितहरूलाई हस्तान्तरण गरिने भएको अध्यक्ष साउँदले बताउनुभयो । 

सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयन गर्न  सुरक्षित गर्भपतन सेवाका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सूचीकृत गर्ने, वैकल्पिक ऊर्जा व्यवस्थापन गर्न वडा नम्बर २ का वडा अध्यक्ष कुशलराज बुढा संयोजक रहने गरी ६ सदस्यीय  ऊर्जा विकास समिति गठन गरेको छ । 

बालबालिकाहरूलाई समस्या पर्न नदिन आपतकालिन बालकोष  सञ्चालन गरिने, यस  अघि सुरुवात भएका कार्यहरू तीव्रताका साथ अघि बढाउने  निर्णय भएका निमित्त प्रमुख प्रशासकीय  अधिकृत खडक धामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button