तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकीमा लालपुर्जा वितरणका लागि प्रक्रिया नापी सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा राष्ट्रिय भूमि आयोग तनहुँले लालपुर्जा वितरणका लागि जग्गाको नापजाँचको प्रक्रिया अघि बढाएको छ । 

नगरपालिकाको वडा न ७ मा जग्गा प्राप्तिका लागि निवेदन दिएकाहरूलाई निवेदन दर्ता भएको निस्सा वितरण सम्पन्न गरी आयोगले नापजाँचको प्रक्रिया अघि बढाएको हो । 

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गाको नापजाँचको कार्य मङ्गलवारबाट सुरु भएको आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो । 

उहाँले कर्मचारीले जमिनको प्रकृति बुझ्न केही दिन लाग्ने र नापीको काम अघि बढाउने तयारी गरेको जानकारी दिनुभयो ।

वडाध्यक्ष खड्कसिंह थापाले आफ्नो वडामा ८८० अव्यवस्थित बसोबासी, १९ जना भूमिहीन दलित र २७ जना सुकुम्वासीले लालपुर्जाको निवेदन दर्ता गराएको जानकारी दिनुभयो ।

शुक्लागण्डकी २ मा निस्सा वितरण गरिएको र  अन्य वडाहरूमा पनि क्रमशः निस्सा वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ । 

नगरभरि ४ हजार ४ सय ३ जनाले लालपुर्जाका लागि फारम भरेको र भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी विरोध स्वरूप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने नगरपालिकाले जनाएको छ । 

निस्साकै आधारमा जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने उपप्रमुख खुमबहादुर वि.कले जानकारी दिनुभयो । भूमिहीन तथा अव्यवस्थित बसोबासीको वर्षौँदेखिको लालपुर्जाको समस्या समाधान गर्न नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको वि.कले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button