तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसद्को आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताउनुभएको छ । 

संसदीय मामिला पत्रकारहरूसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा सभामुख सापकोटाले संसद्को समय अवधि आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने भन्ने मोटामोटी बुझाई रहेको बताउनुभयो । 

उहाँले मोटामोटी सहमति बने पनि यसबारे टुङ्गोमा पुग्न सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने समेत स्पष्ट पार्नुभयो । 

सभामुख सापकोटाले संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाएर छिटो टुङ्गोमा पुर्‍याउने आफ्नो चाहना र प्रयत्न रहेको उल्लेख समेत गर्नुभयो । 

उहाँले जनतालाई बलियो बनाउने महत्त्वपूर्ण र सर्वोच्च संस्था संसद्लाई प्रभावकारी बनाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । 

सभामुख सापकोटाले प्रतिनिधिसभामा महत्त्वपूर्ण विधेयक अड्काएर राखेको भन्ने भनाइमा कुनै सत्यता नरहेको उल्लेख गर्दै १५ वटा विधेयक पारित गरेको र ५ वटा संसदीय समिति र विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेश भएको जानकारी दिनुभयो । 

उपसभामुख पुष्पा भुसाल (गौतम)ले मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

उहाँले सञ्चारमाध्यमले संसद् र जनता बीचको पुलको काम गरेको र यसलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लगिने उल्लेख गर्नुभयो । 

संघीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता डा. रोजनाथ पाण्डेले संसद्को आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउँदै संसदीय मामला पत्रकारहरूलाई समाचार सङ्कलनका लागि सहज बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

अन्तर्क्रियामा संसदीय मामिला पत्रकार समाजका पदाधिकारी एवम् संसदीय मामिलाको समाचार सङ्कलन गर्दै आएका पत्रकारहरूले सचिवालयका कर्मचारीहरूले समाचार सङ्कलनमा अवरोध गरेको, संसद्को व्यवस्थापकीय पक्ष कमजोर रहेको लगायत थुप्रै प्राविधिक समस्याका कारण समाचार सङ्कलनमा कठिनाइ भइरहेको गुनासो गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button