तपाईँ सुन्दै हुनुहुन्छः

जातीय दङ्गामा सुडानमा ३१ जनाको मृत्यु

खार्तुम ।  सुडानमा भएको जातीय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरू ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ । 

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन् भने केही शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।  

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा हिँडडुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ । 

ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।  

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button