तपाईँ सुन्दै हुनुहुन्छः

असार ३१ मा उपसभामुख पदका लागि निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही असार ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन हुने मिति तोक्दै निर्वाचन सम्बन्धी कार्यतालिका समेत आजै प्रकाशित गर्न निर्देशन दिनुभएको हो ।

निवर्तमान उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको छ ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ पेश भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधान अनुसार सरकारले नागरिकता विधेयक अगाडी बढाएको भन्दै कुनैपनि नेपाली नागरिक नागरिकता पाउने अधिकारबाट वञ्चित नहुने गरी विधेयक ल्याइएको बताउनुभयो ।

सरकारले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयको छलफलपछि संसदभित्रै सहमतिबाट अगाडी लैजाने प्रयत्न भएको तर अगाडी बढाउन नसकेर फिर्ता गर्नुपरेको बताउनुभयो ।

बुवाआमा नेपाली नागरिक भएर पनि उनीहरूका सन्तानलाई नागरिकता दिन नसकिएका कारण उनीहरूको भविष्य नै अन्यौलता रहेको बताउनुभयो ।

उहाँले  दलहरूकाबीच छलफल गरी नागरिकता दिन सकियोस् भन्ने उद्देश्यका साथ यो विधेयक आएको मन्त्री खाणले उल्लेख गर्नुभयो ।

संसदमा नागरिकता विधेयक अगाडि नबढाउन नेकपा एकाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले दर्ता गराएको विरोधको सूचना प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरी विधेयक पेश भएको हो ।

यसअघि बैठकको सुरुमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्दै सरकारको आर्थिक अवस्था नाजुक बन्दै गएको भनेर हतोत्साहित गर्ने खालका कुराहरू आइरहेको र राष्ट्र बैङ्कको गभर्नरजस्तो जिम्मेवार पदाधिकारीले समेत  यस्ता कुरा गरेर नागरिक र व्यवसायीलाई आतङ्कित गर्न नहुने बताउनुभयो ।

गभर्नर कुनैपनि पार्टीको व्यक्ति हुन नसक्ने भन्दै दलीय संलग्नता छानविन गरी दोषी पाइए कारबाही गर्न र गभर्नरबाट आइरहेका भ्रमपूर्ण अभिव्यक्ति तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले सरकारले अगाडि बढाएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै त्यसका लागि छुट्याइएको रकम सम्बन्धित अस्पतालमा समयमा पठाएर नागरिकलाई स्वास्थ्य उपचारमा सहजता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी ऐन हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले सो ऐन संशोधनका लागि राष्ट्रियसभामा दर्ता गरिएको विधेयक संवैधानिक कानुन अनुसार अगाडि बढाउन नमिल्ने बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button