‘सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन’
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उहाँले पाँच/छ लाख युवा नागरिकता नपाएका कारणले समस्याको सामना गरिरहेको बताउनुभयो । नागरिकता नभएका कारण युवाहरूले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउनुहुँदै उहाँले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाउनुभयो ।

नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि वर्तमान सरकारले नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । नागरिकतासम्बन्धी संसद्मा दर्ता भएको नयाँ विधेयक चाँडै नै पारित हुने उहाँले बताउनुभयो ।
नागरिकतासम्बन्धी नयाँ विधेयक संसद्मा रहेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित सबै राजनीतिक दलहरूबिच सहमति गरेर पारित हुने उहाँले बताउनुभयो । नागरिकता विधेयक संसद्बाट पारित भएसँगै अधिकांश व्यक्तिले नागरिकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला र काँग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी लगायतको सहभागिता रहेको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्